काठमाडौं। संवैधानिक परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिषद्को बैठक बोलाएका हुन्।
आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल गर्ने बताइएको छ। यसअघि वैशाख ६ गते बसेको परिषद्को बैठकमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश हुन सकेको थिएन।
परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो। परिषद्को आजको बैठक अघिल्लो बैठककै निरन्तरता भएको र अन्य कार्यसूचीबारे केही बताइएको छैन।
सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको छ। यसैले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब छ।
परिषद्को सिफारिशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।











