काठमाडौं। काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) देखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरूवात गरेको छ।
महानगरपालिकाका प्रमुख बालेन साहले आजदेखि यो सेवाको सुरूवात भएको जानकारी दिए। उनका अनुसार पहिला पनि विद्युतीय प्रणाली थियो। तर,नक्सा कित्ता भर्ने र प्रिन्ट गर्नुपर्ने लगायत कामका लागि २ महिनासम्म समय लाग्ने थियो।
‘ट्रायकिङ हुन्थ्यो तर,अडा अड्डामा जानुपर्थ्यो, अहिले अटोमेटिक छ,प्रिन्ट गर्नु पर्देन, डिजिटल फर्मबाट २५ दिनमा तयार हुन्छ,’उनले भने।
उनका अनुसार यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ। त्यस्तै,संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्रिन्ट लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ।
‘यसले पहिले २३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने छ,यसका लागि सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ, यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ,’उनले भने।











