भरतपुर । भरतपुर महानगरपालिका–१० स्याउलीबजार निवासी भूवन आचार्य र प्रभा आचार्यले आफ्नो स्वर्गीय छोरा रन्जन आचार्यको स्मृतिमा ज्येष्ठ नागरिक भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर–९ साझा टोलस्थित दुर्गादेवी मन्दिरको परिसरमा भवन निर्माण गर्न आचार्य दम्पत्तिले पाँच लाख एक हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
दुर्घटनाका कारण २६ वर्षको उमेरमा २०७८ साउन २३ गते रन्जन दिवंगत भएका भएका थिए । आफ्नो छोराले कलिलो उमेरमै ज्यान गुमाउनु परेकाले ज्येष्ठ नागरिकको सम्मान र सहजताका लागि ज्येष्ठ नागरिक भवन निर्माणमा सहयोग गरेको बुबा भूवन आचार्यले बताए । आचार्य दम्पत्तिले बिहीवार भवनको शिलान्यास समेत गरेका छन् ।
भवनको लागि बागमती प्रदेशको सार्वजनिक निर्माण कार्यान्वयन इकाईले २५ लाख रुपैयाँ विनियोजन समेत गरेको थियो । पहिलो चरणमा भवनको डिपिसीसम्मको काम गर्न इकाईले बजेट दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सापकोटाले बताए । ज्येष्ठ नागरिक भवन निर्माण सम्पन्न गर्न करिब एक करोड ५६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए ।











