पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको बताए ।
नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको आरोप छ । ‘नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइन्छ । विभिन्न सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट प्रसारित हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट तपाईंहरु टाढै रहनुपर्छ’ प्रधान सेनापति शर्माले भने ।
नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएमा आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।











