चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोनजामा नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गतका होटलमा गएराती अनुगमन गरिएको छ । रामनगर र जुगेडीका केहि होटलमा यात्रुलाई न्युन गुणस्तरीय खाना खुवाएको भन्ने गुनासो आएपछि गएराति अनुगमन गरिएको हो । राजमार्गका होटलमा जिल्ला प्रशासन, खाद्य, प्रहरी, होटल व्यवसायी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा होटलले आवश्यक सरसफाईको व्यवस्था गरेको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । जुगेडीको होटल नमस्ते नेपालमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ । सरसफाई कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नविकरण समेत नभएको पाएपछि प्रशासन कार्यालयमा उपस्थितीको लागि निर्देशन दिइएको छ ।
श्रीनगर होटल एण्ड रेष्टुरेन्टमा खान अयोग्य मासु नष्ट गरिएको छ । यो होटलमा सादा खानाको मूल्य अत्यधिक लिएको पाइएको छ भने सरसफाइमा पहिलाको भन्दा केहि सुधार देखिएको सहायक प्रजिअ शर्माले बताए ।
त्यस्तै, रामनगरको मिलिजुली होटलमा खाना खाएका यात्रुले बासी खाना खुवाएको गुनासो गरे । आफ्नो होटलमा गाडी ल्याएर रोके बापत होटल सञ्चालकले गाडी चालकलाई हरेक पटक मासु खाना र १५ सय रुपैयाँ दिने गरेको प्रतिक्रिया दिए ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितनवका प्रमुख घननाथ अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख धिरेन्द्र प्रसाद पोख्रेल, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुसाल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खोले लगायतको उपस्थिती थियो ।











