चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बहुमुल्य गरगहनाको अबैध ओसार पसार गरिरहेका तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बलिया जिल्ला, फेफना थाना बस्ने ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बंगालको हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने ५१ वर्षीय गणपत कुमार तोसावर र सोही ठाउँका ४२ वर्षीय नरेश बर्मा रहेको प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा आज (बुधबार) राती १ बजे भरतपुर महानगरपालिका–१२ गोन्द्राङ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्चिम आउँदै गरेको WB 12AV 5566 भारतीय नं. को नेक्सन कम्पनीको कारलाई तीन जना भारतीय नागरिक सहित नियन्त्रणमा लिइएको हो ।

उक्त कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्स भित्र र Air Filter भित्र लुकाई छिपाई बहुमुल्य हिरा र सुनका गर गहना, एवम् विभिन्न किसिमका पत्थर समेत फेला परेको पण्डितले जानकारी दिए ।
प्रहरीका अनुसार सुनका गरगहना ६३.८९८ तोला र हिराजडित गरगहना २२.८७८ तोला बरामद गरिएको हो । उक्त गरगहनाको अनुमानित मूल्य एक करोड १० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।











