काठमाडौँ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेश गर्ने स्वीकृति दिएको छ। फागुन ११ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आव २०७८।०७९ को वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय भएको बताइन्।
उनले २०७९ चैत्र १३ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने दशौं ‘एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलपमेण्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताइन्। सरकारले २०७९ चैत १ देखि १४ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने ‘प्रमोटिङ डिसेन्ट इम्प्लोयमेण्ट फर वुमेन थ्रोउज इन्क्लुसिभ ग्रोथ पोलिसेस एण्ड इन्भेष्मेण्ट इन द केयर इकोनोमी’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाललाई स्वीकृति दिने, विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, चालू आव २०७९।०८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ निर्धारण गर्ने, मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौता अन्त्यसम्बन्धी निर्णयउपर दर्ता भएको मध्यस्थता विवादको निर्णय नभएसम्म थाइल्याण्डस्थित नेपाली राजदूतावासले खानेपानी मन्त्रालयसँग निकट सम्पर्क र समन्वयमा रही कानूनी प्रतिरक्षा सम्बन्धी आवश्यक कामकाज गर्ने, बहराइनस्थित इसा अवार्ड ट्रस्टले प्रदान गरेको इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड डा. सन्दुक रुइतलाई ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै सरकारले २०७९।११।१७ गते सुडानमा हुने फम्र्ड पुलिस युनिट (एफपीयू) को मेडल परेड कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई सहभागी हुन स्वीकृति दिने, दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने, २०७९ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म बेलायतमा हुने स्कुल लिडरसिप स्टडी भिजिटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (शिक्षा) रामकृष्ण सुवेदीलाई भाग लिन स्वीकृति दिने, संघीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय भएको छ।
त्यस्तै सरकारले २०७९ फागुन २३ देखि २५ सम्म जर्मनीमा आयोजना हुने ‘इन्टरन्याशनल टुरिजम बोर्स (आइटिबी) बर्लिन २०२३’ पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सहभागी हुन स्वीकृति दिने, राष्ट्रिय तथ्यांक कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणमा कानून सदस्यको पदमा नाम सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।
प्रवक्ता शर्माले सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम स्वास्थ्य सेवाको एघारौँ तहमा दुईजनालाई नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको पनि बताए।











