काठमाडौं। बलात्कार मुद्दामा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिन सर्वोच्च अदालतले अस्विकार गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले शुक्रबार लामिछानेको पुनरावेदन निवेदनको सुनुवाइ गर्दै भोलि नै विदेश जान अनुमति नदिएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले अर्को मुद्दालाई पनि साथै राखेर आइतबार पेस गर्न इजलासबाट आदेश भएको बताए।
नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा छाडेको थियो। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
उच्च अदालतको आदेश बदर गर्न भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा पनि शुक्रबार नै पेशी तोकिएको थियो । न्यायाधीश प्रकाश ढुंगाना र हरि फुयालको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।
अब दुबै मुद्दाको आइतबार सँगै सुनुवाई हुनेछ। लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय श्रृंखलाका लागि नेपाली टिम शनिबार युएई जाँदैछ। अदालतले अनुमति दिएको भए उनलाई पनि लैजाने क्यानको तयारी थियो। तर अदालतले अर्को पेशी आइतबार तोकेकाले उनी शनिबार विदेश जान नपाउने भएका छन्।











