काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो। यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ। राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन्।
आजै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिन सकिनेछ। त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ। दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ।
उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ। शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ।











