इलाम । मंगलबारको क्वार्टरफाइनल खेलमा मनिष डाँगी निर्णायक बन्दा घरेलु टोली भद्रपुर ब्लेजर्सलाई पराजित गर्दै संकटा क्लब भद्रपुर झापा गोल्डकपको सेमीफाइनल पुग्न सफल भएको छ।
खेलको ५ औं मिनेटमा मनिषले गरेको गोल नै संकटाको जितका लागि निर्णायक बन्यो। खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक टिकेन्द्र थापा घोषित भए। उनले नगद २० हजार पुरस्कार पाए।
जितसँगै संकटाले फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र पाहुना टोली डुक ल्यायुल एफसी भुटानबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको दोश्रो क्वार्टरफाइनल खेलमा बुधबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज सोमबार दोश्रो प्रि–क्वार्टरफाइनलमा विभागीय टोली नेपाल पुलिसलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन्।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रूपैयाँ दिइने जानकारी आयोजकले दिएको छ।











