चितवन । भरतपुर–४ लंकुस्थित लक्ष्मी वैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित वैकुण्ठनाथ परमवैदिक विद्या प्रतिष्ठानम् (गुरुकुलम्)को सर्वाङ्गीण विकासार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी लक्ष्मी वैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञमा भोलि निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आउने भएका छन् ।
भोलि महायज्ञको प्रथम चरणको समाप्ति हुँदैछ । प्रथम चरणमा यशोदा माताले प्रवचन गरिरहेकी छन् । महायज्ञको सातौं दिन आज भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको र आजसम्म नगद र बोलकबोल रकम गरी झन्डै १ करोड ४० लाख रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिए ।
महायज्ञमा आज नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीले परम प्रमुख अतिथिका रूपमा आशीर्वचन प्रदान गर्दै गुरुकुलको विकासार्थ भएको महायज्ञमा सबैले सहयोग गर्न आह्वान गरे ।
आजको कार्यक्रममा परमानन्द संस्कृत गुरुकुल देवघाटका प्राचार्य स्वामी विमलानन्द सरस्वती, इटहरीका धर्माचार्य श्रीनिवासाचार्य, इस्कोन चितवनका संस्थापक गौर सुन्दरदास प्रभु लगायतका सन्त–महात्माहरूको उपस्थिति रहेको थियो। कार्यक्रम भरतपुर–४ का पूर्व वडा अध्यक्ष हरिप्रसाद आचार्यको प्रमुख आतिथ्य तथा गुरुकुलका सल्लाहकार कलाधर अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।











