भरतपुर । चितवन मेडिकल कलेजको सय बेड क्षमताको सिएमसी क्यान्सर इन्स्टिच्युट तयार भएको छ । सिएमसीले आज पत्रकार सम्मेलनको आयोजना गरी क्यान्सर इन्स्टिच्युटको बारेमा जानकारी गराएको हो । क्यान्सर इन्स्टिच्युटको भोलि एक कार्यक्रमका बीच उद्घाटन गरिँदै छ ।
विभिन्न कारणबाट बढ्दै गएको क्यान्सर रोगको उपचारलाई सहज र सुलभ बनाउन क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको सिएमसीका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए ।
इन्स्टिच्युटको भोलि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले उद्घाटन गर्ने उनले बताए । उनकाअनुसार अस्पतालमा क्यानसर रेडियसन लगायतका सेवा सन्चालनमा आइसकेका छन् । सम्पूर्ण क्यान्सरको परीक्षण, निदान र उपचार विश्वमा क्यान्सरको उपचारको क्षेत्रमा प्रयोग भएको पछिल्लो प्रविधीको माध्यमबाट दक्ष चिकित्सक तथा विज्ञबाट गराइने उनी बताउँछन् । क्यानसर अस्पतालमा व्याक्रिथेरापी, रेडिएसन, केमो घेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् ।

दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिसकिएको छ। सो मेसिनमा ‘सिक्स डी काउच र हाइपर आर्क’ प्रविधि छ ।
टाउको भित्रको ट्युमरलाई विना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस ९स्टेरियो टेक्टिक रेडियो सर्जरी० पनि उपलब्ध छ। यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र जुन भागमा ट्यूमर छ त्यसलाई मात्रै सेकाएर नष्ट गरिने हुँदा बिरामीलाई सहज मानिन्छ । यस्तै एसबीआरटी (स्टेरियो टेक्टिक बडी रेडिएसन थेरापीं) सेवा पनि यही उपकरणबाट दिन मिल्छ ।
यो उपचार उपकरणले शल्यक्रिया बिना शरीरका अंगहरुमा रहेको क्यान्सरका ट्युमरहरुलाई नष्ट गर्दछ । फोक्सो, प्रोस्टेट, आन्द्राको क्यानसरमा यो विधि उपयोगी मानिन्छ। यसैगरी शल्यक्रिया गर्न नमिल्ने चौथो स्टेजमा पुगेका क्यान्सर र हड्डीको क्यानसरको उपचारमा पनि यो प्रविधि सहज र प्रभावकारी हुने उनले बताए ।
क्यान्सर पत्ता लागेको ३/४ दिन भित्र नै रेडियोथेरापी लगायतका उपचार तत्काल सुरु गरिने भएकोले क्यान्सरको उपचार र परीक्षणमा महिनौ लामो पालो कुर्न नपर्ने अवस्थाको अन्त्य हुने भएको छ । अस्पतालले सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र बागमती प्रदेश सरकारले उपलब्ध गराउने पचास हजार बराबरको उपचार सुविधा पनि उपलब्ध गराउने छ ।











