भरतपुर । शहरी विकास मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले राप्रपाले संघीयताको विरोध गर्ने बताएका छन् ।
मन्त्री बनेपछि बुधबार पहिलो पटक चितवन आएका मन्त्री पाण्डेले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी राप्रपा संघीयताको विरोधी रहेको बताए ।
‘संघीयता हामीले स्वीकारेको छैनौँ’, उनले भने । संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहालवाला मन्त्रीले संघीयताको विरोध नगर्न चेतावनी दिएका थिए । चेतावनीका बीच पार्टीको धारणाबारे बोल्न नडराउने उनले बताए ।
आफ्नो एजेण्डाहरु राखेर नै सरकारमा सहभागी भएको भन्दै उनले हरेक कुरामा धारणा बनाउन पाउने अधिकार लोकतन्त्रमा नै रहेको बताए । फरक प्रसंगमा बोल्दै मन्त्री पाण्डेले आफु शहरी विकास मन्त्री बन्दैगर्दा कुनै स्वार्थ नबाझिएको दाबी गरे ।
आफुले निर्माण कम्पनीबाट राजिनामा दिइसकेको उल्लेख गर्दै उनले अदालतमा परेको मुद्धाको विषयमा सर्वोच्चले सफाइ समेत दिइसकेको बताए । राजनीतिक पूर्वाग्रह राखेर आफु विरुद्ध मुद्धा हालिएको उनले दाबी गरे ।











