-सुनिता सुवेदी
चितवन । चितवन जिल्ला डेङ्गुको संक्रमण भयावह हुन सक्ने जोखिममा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा मात्रै ९८९ जनामा परिक्षण गर्दा ७६ जनामा डेङ्गु देखिएको छ ।
डेङ्गु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे चितवनमा पहिलेदेखि नै भएकोले उच्च सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालय चितवन प्रमुख दुर्गादत्त चापागाईँ बताउँछन् । उनका अनुसार बर्षात्को पानी रोकिए पश्चात कृत्रिम भाँडाहरुमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्ने र लार्भा वृद्धि गर्ने काम गर्छ । उक्त लार्भा एक हप्तामा वयस्क लामखुट्टे भएर वातावरणमा आउँछन् । त्यसरी आएका लामखुट्टेहरुले डेङ्गु सार्ने गरेको चापागाईँले जानकारी दिए ।
चितवन धेरै मानिसहरु ओहोरदोहोर गर्ने जिल्ला भएकोले पनि डेङ्गुको जोखिम उच्च रहेको चापागाईँको भनाई छ । ‘हामी सचेत नहुने, वास्ता नगर्ने, सर्तकता नपनाउने हो भने चितवनमा डेङ्गुको अवस्था भयावह हुन्छ’, उनी भन्छन्, ‘यसलाई रोकथाम गर्ने अवसर हामीले पाएका छौँ, बेलैमा रोकथाम गर्ने प्रयास पनि गरिहेका छौँ ।’
ज्वरो आउने, शरिर दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, शरिरमा हड्डी भाँचिएसरह दुखाई हुने डेङ्गुका सुरुवाती लक्षण हुन् । रोगले जटिल अवस्था लिएको खण्डमा शरिरको भित्री भागहरुमा ब्लिडिङ हुने वा बाहिरी छालामा समेत रगत बगेको दागहरु देखिनुका साथै मसिनो बिबिराहरु आउने गर्छन् । डेङ्गु रोगले अझै गम्भीर अवस्था लिएको खण्डमा शरिरमा प्लेटलेट्सको मात्रा घट्न सक्ने र विरामी बेहोस् हुनुको साथै मृत्यु समेत हुन सक्ने चापागाईँले जानकारी दिए ।
बिहान, दिउँसो र बेलुका टोक्ने तर राती सुतेको बेला नटोक्ने एडिस लामखुट्टेको विशेषता हुन्छ । यसबाट बच्नको लागी हाम्रो घरवरपर छरिएर रहेका ससाना भाँडाहरु, प्लाष्टिक र अण्डाको बोक्रामा पानी जम्न नदिने, हिड्दा लामो बाहुला भएको कपडा लगाउने, झ्याल ढोकामा जाली लगाउने, टायर व्यवस्थापनमा ध्यान दिने र विभिन्न किसिमका मल्हमहरु पनि प्रयोग गर्न सकिन्छ । लामखुट्टेको नियन्त्रण नै डेङ्गुबाट बच्ने मूख्य उपाय भएको चापागाईँको भनाई छ ।
चापागाईँका अनुसार, नयाँ डेङ्गु फैलाउने मूख्य स्रोत डेङ्गुको बिरामी नै भएकोले लामखुट्टेले अरुलाई सार्छ । डेङ्गु लागेको शङ्का लागेमा तुरुन्तै उपचार गर्नुपर्छ । समयमा नै उपचार गरेपछि बिरामी जोखिममुक्त हुनुको साथै अन्य व्यक्तिमा सर्नबाट बचाउन सकिन्छ ।
लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियानको जिम्मा हरेक पालिकाको रहेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसी बताउँछन् । उनी भन्छन्, ‘पालिकाले अभियान चलाउने, हामीले प्राविधिक सहयोग गर्ने जिम्मा हो ।’
साउनमा भरतपुर अस्पतालमा १७, सिएमसीमा १६, रत्ननगर बकुलहर अस्पतालमा १२, खैरहनी नगर अस्पतालमा १५ र नारायणी सामुदायिक अस्पतालमा १६ जना डेङ्गुका विरामी भेटिएको सूचना अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार, साउनमा पनि केही अस्पतालको तथ्याङ्क छुटपुट भएकोले डेङ्गुका बिरामीको संख्या थपिन सक्छ ।
गत आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच हजार ४५४ विरामीलाई गरिएको परिक्षणमा ३०३ जना डेङेगु संक्रमित भेटिएका थिए । त्यस्तै, अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा भने एक हजार ९८६ जनामा परिक्षण गर्दा २४७ जनामा डेङ्गु पुष्टि भएको कार्यालयको तथ्याङ्क छ । पछिल्लो समय चितवनमा डेङ्गु लगायत भाइरल ज्वरो, जापानिज इन्सेफलाइटिस लगायत विभिन्न किसिमका मौसमी रोगहरुले सताइरहेको केसी बताउँछन् ।











