काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताएका हुन्।
शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरूले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिए।
उनले विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट कुनै पनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताए। उनले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भूमिका निभाइ निष्पक्ष र स्वतन्त्र रुपमा सदन सञ्चालन गर्नुपर्ने बताए।
‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ। तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन। फुट्न लागेको दल छ भने पनि बचाउने हो। फुटाउन सघाउने होइन। भोलि पनि त्यस्तो दिन आउनसक्छ, सभामुखज्यु तपाई कसैको स्वार्थमा नआउनुहोला, यदी जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न’, उनले भने ।











