काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा सत्तारूढ गठबन्धनतर्फका उम्मेदवार रहेका घिमिरेले १६७ मत पाएसँगै निर्वाचित भएका हुन्। त्यस्तै, उनको विपक्षमा १०० मत र मत दिन्नँ भन्नेमा एक मत परेको छ।
आजको संसद् बैठकमा कुल २६८ जना सांसद उपस्थित रहेको सभामुख तथा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए।
सभामुखको उम्मेदवारमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको थियो।
घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने थिए।
त्यस्तै, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला थिए।
बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गरेका थिए।











