काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी कञ्चनपुरमा परेको छ।
महाशाखाले मंगलबार (असार १६ गते) दिउँसो १.०५ बजे जारी गरेको सूचनामा २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको हनुमाननगरमा १४७.४ मिलिमिटर परेको उल्लेख छ। मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै पानी परे धेरै भारी वर्षा भएको मानिन्छ।
अहिले पनि मधेश प्रदेश बाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदुरपश्चिम प्रदेशको पहाडी र तराईका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ।
आज राती देशको पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको बर्षा हुन सक्ने भनिएको छ। कोशीका पहाडी र तराईका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी समेत आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।











