काठमाडौं । गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।
यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।
विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।
यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।
काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य(मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।
नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १ हजार ५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी जम्मा ३ हजार २३१ वटा क्यामेराहरु संचालित छन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।

कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेकोर हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २ हजार १७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १ हजार २६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ ।

सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७ हजार ४०७ जना, ट्राफिक लेनरफिल्ड अनुशासन कारबाही ३ हजार ८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३ हजार ९८७ जना, ट्राफिक लेनरफिल्ड अनुशासन कारबाही १ हजार ८५७ जनालाई सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।










