काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।
आइतबार धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला बैठकको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने बताएका हुन्।
‘२६ गते विश्वासको मत ढाल्न खोज्नेहरू यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ उनले भने, ‘सरकारविरूद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।’
अध्यक्ष ओलीले अहिले अन्य शक्तिहरूले नचाहेको सरकार बनेको दाबी गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा संविधानको धारा बिर्सिएको उल्लेख गरे।
अध्यक्ष ओलीले असंवैधानिक र अनैतिक ढंगले अदालतले बनाइदिएको परमादेशी गठबन्धनलाई परास्त गरेर नयाँ जनादेश बमोजिम सरकार बनाउने गरेको बाचा पूरा गरेको बताए।











