काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत वाम एकताको लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।
माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले वाम एकताको पहलका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वार्ता टोलीमा महारासँगै महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन्। वाम लोकतान्त्रिक गठबन्धन भत्काएर एमालेलगायत दलको समर्थम माओवादी नेतृत्वको सरकार गठन भएसँगै बृहत वाम एकताको आवाज उठ्न थालेको छ।
यसै सन्दर्भमा नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष बाबुराम भट्टराईले शनिबारै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन्।
पार्टी एकताको विषयमा उनीहरुबीच छलफल भएको जानकारी दिइएको छ । एमालेबाट फुटेर अलग भएको एकीकृत समाजवादीले समेत वाम एकताको पहलका लागि सचिवालयलाई जिम्मा दिएको छ।











