-सुनिता सुवेदी
चितवन । जब मनसुन सक्रिय हुन्छ, तब नारायणगढ–मुग्लिन सडकखण्डले सबैलाई चिन्ता दिन्छ । यस सडकखण्डले विस्तारपछि पनि हरेक बर्ष यात्रुहरुलाई सास्ती दिँदै आइरहेको छ । यो वर्ष सास्तीको केन्द्र बनेको छ ‘केराबारी’ ।
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ मा पर्छ केराबारी । केराबारीमा छ मौरी पुल । यहि मौरी पुलमा आउने पहिरोले यात्रुलाई सास्ती मात्र दिएको छैन । स्थानीय बासिन्दा राती पनि डरै डरमा सुत्नुपरेको छ ।
पछिल्लो एक महिनामा मात्रै केराबारीमा सानो–ठूलो गरी आठ पटक भन्दा बढी पहिरो गएको छ । पहिरो गएपछि लामो दुरीको यात्रामा निस्किएका यात्रुहरु १८ घण्टासम्म जाममा बस्नुपरेको छ । केराबारीमा पानी पर्ने बित्तिकै जाने पहिरोले धेरैलाई सास्ती दिएको छ ।
केराबारीमा पहाडबाट बग्दै आउने लेदोसहितको पहिरोका कारण राती पनि डरै डरमा सुत्नुपर्ने बाध्यता रहेको स्थानीय भोमाया गुरुङ बताउँछिन् । रातको समयमा वर्षा हुँदा मौरी पुल नजिकै बस्दै आएकी गुरुङलाई पहिरोले मध्यरातमा नै उठेर भाग्न बाध्य बनाउँछ । मौरीपुल नजिकै चार/पाँच वटा घर छन् ।

मौरी पुलमाथिको पहाडबाट धारिला ढुंगासहितको पहिरो घरर गर्दै पूलमाथी आएर थुप्रिन्छ अनि बाटो नै बन्द हुन्छ । ‘राती सुतेको बेला पानी परेपछि पहिरो खस्छ कि भनेर उठेर त्यतै हेरिबस्छौँ । पानी नपर्दा पनि डरै डरमा सुत्नुपर्छ’, उनी भन्छिन्, ‘पहिरो आएजस्तो लाग्यो भने रातारात उठेर ज्यान जोगाउन घर छाडेर पर जान्छौँ ।’
ठूलो पानी परेपछि त्यहाँका स्थानीय जागराम बस्छन् । पहिरो खस्न थालेपछि घर छाडेर भाग्ने गरेको सुकबहादुर गुरुङ बताउँछन् । ‘यसपालि हामीलाई धेरै डर छ’, उनी भन्छन्, ‘लेदोसहितको पहिरो बगेर घरतिरै आउँछ कि भनेर डर लाग्छ । यहाँ बसेको ८/१० वर्ष भयो अहिलेसम्म यस्तो भएको थिएन ।’ पहिरो गएपछि यहाँ यात्रुले पनि घण्टौँसम्म सास्ती भोग्नुपरेको उनी बताउँछन् ।

यस सडक भएर दैनिक हजारौँ सवारी साधन देशको संघीय राजधानी काठमाडौँ र पोखरा जान्छन् । केराबारीमा पहिरोले पुल नै थुनिएपछि पुलमाथिबाट खोला बगेको छ । माथिबाट पुलमा खसेका ढुंगा फाल्न कर्मचारी खटाइएको छ । पहिरो झर्ने बित्तिकै हटाउन भनेर मौरी पुल नजिकै एउटा डोजर तयारी अवस्थामा राखिएको छ ।
पुलमा झर्ने ढुंगा फाल्न खटिएको एक कर्मचारी भन्छन्, ‘माथीबाट आएको पहिरो पूलमा थुप्रिदा सडक बारम्बार अवरुद्ध भएको हो, पूलको छेउछाउमा उच्च र बीचमा खाल्डो भएकोले पानी जमेको छ ।’

विश्व बैकको अनुदानमा विस्तार भएको करिब ३६ किलोमिटर लामो यो सडकखण्डमा हरेक वर्ष पहिरोले सताउने गरेको छ । उक्त सडकखण्डमा बर्षायाम मात्र नभएर हिँउदमा पनि सुख्खा पहिरो जाने र यात्रुले सास्ती पाउने गरेका छन् ।
किन गइरहन्छ केराबारीमा पहिरो ?
केराबारी क्षेत्रको करिब ४/५ सय मिटरको बेल्डमा बनेका सडक र पुल नै पहिरोमाथि बनाइएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनाल बताउँछन् । केराबारीमा गइरहने पहिरो यस वर्ष नियन्त्रण गर्ने सम्भावना नरहेको उनको भनाइ छ ।
‘त्यहाँ ठूलो पहाड नै बगेर आएको पहिरो छ । त्यहि पहिरोमाथि पुल र बाटो बनाइएको छ’, उनी भन्छन्, ‘२०६० सालमा पनि यस्तै पहिरो गएर एक महिनाभन्दा बढी समय बाटो बन्द भएको थियो । अहिले पनि त्यस्तै भएको हो । तर हामीसँग पर्याप्त इक्युपमेन्ट भएकाले पहिरो झर्ने बित्तिकै हटाउन पाएका छौँ ।’

पहिरो नियन्त्रणका लागि सडक विभागले गत वर्षदेखि अध्ययन गरिरहेको छ । केराबारीमा लेदोसहितको पहिरो बग्दै जाने भएकाले पहाडबाट अकस्मात झर्ने पहिरो जस्तो जोखिम नभएको उनी बताउँछन् । यद्यपी यसले लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाउने गरेको उनले बताए ।
‘यो वर्ष पहिरो झरिरहने हाम्ले पहिरो फाल्ने मात्र काम हुन्छ ।’ उनी भन्छन्, ‘सडक विभागबाट अध्ययन गरेर अर्को वर्षसम्म भयावह अवस्था आउन रोक्ने प्रयास गरिरहेका छौँ ।’ सडक खण्डको अन्य स्थानमा गरिएको ‘रकनेटिङ’ले पहिरो रोक्न धेरै हदसम्म प्रभावकारी देखिएको छ । पछिल्लो केहिदिन यता सडकखण्ड अन्र्तगत पर्ने १८ किलोमा पहिरो गएर सास्ती दिन थालेको उनी बताउँछन् ।











