चितवन । होटल व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनमा उपाध्यक्ष पदका लागि जनक पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
संघको हालै सम्पन्न बैठकले उपाध्यक्षमा पौडेल, वस्तुगततर्फ कार्यसमिति सदस्यमा लोकनाथ भट्ट (कृष्ण) र उद्योगतर्फबाट कार्यसमिति सदस्यमा इमान्दु बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले संघको तर्फबाट तीन जनालाई उद्योग वाणिज्य संघमा पठाउने सर्वसम्मत निर्णय गरिएको बताए । उनले तीनै जनालाई विजयी गराउन सम्पूर्ण होटल व्यवसायी लाग्ने पनि बताए ।
उपाध्यक्ष पदका उम्मेदवार जनक पौडेलले आफूलाई उम्मेदवार बनाउने होटल व्यवसायी संघप्रति धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण व्यवसायीलाई सहयोगका लागि आग्रह गरे । पौडेलले भने “व्यवसायीको नेतृत्वदायी संस्था उद्योग वाणिज्य संघमा होटल व्यवसायी साथीहरुले मलाई उपाध्यक्षमा पठाउने निर्णय गर्नुभएको छ, म संघमा आवद्ध सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।” उनले उवासंघ चितवनमा आवद्ध सम्पूर्ण व्यवसायी साथीहरुलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।
आफू निरन्तर व्यवसायीहरुको हितमा लागेको भन्दै पौडेलले व्यवसायीका यावत समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने “अहिलेको परिस्थितिमा चितवनका व्यवसायीको धेरै समस्या छन्, तिनलाई मसिनोगरी केलाएर समाधान तर्फ लैजान मेरो उम्मेदवारी हो ।” युवा व्यवसायी पौडेल संघमा निकै चर्चित अनुहार मध्ये एक हुन् । संघमा उपाध्यक्ष पदको उम्मेवारी बारे उहाँको चर्चा निकै अघि बढेको छ ।
उद्योग वाणिज्य संघ चितवनको अधिवेशन आगामी पुस १९–२१ मा हुँदैछ । उक्त अधिवेशनमा व्यवसायीहरुबीच नेतृत्वमा को जाने भन्ने बहस शुरु भएको छ । संघको निर्वाचनमा प्रायः सर्वसम्मतभन्दा पनि निर्वाचनबाट नेतृत्व चयन हुँदै आएको छ ।











