काठमाडौं । सरकारले निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्ने भएको छ। यसका लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको एक अधिकारीले जानकारी दिएका छन्।
केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ। आइतवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन प्रयोजनका लागि नेपाली सेना परिचालन गर्नका लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको जानकारी दिए। समितिको गत असोज ९ मा बसेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
उनले भने, ‘एकीकृत सुरक्षा योजनामाथि व्यापक छलफल गरेर यसलाई स्वीकृत गर्ने निर्णय भएको छ। यी सबै कुरासहित एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ सुरक्षा स्वीकृत गरेको छ। त्यस्तै निर्वाचन प्रयोजनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न भन्दै सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि भएको छ।’
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागी थिए।











