काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते मंगलबार संसद बैठकमा विश्वासको मत लिने भएका छन्।
पुस २६ गतेको बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्दे प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस २५ गतेका लागि आह्वान गरेकी छिन्।
पुस २६ गते बस्ने बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।
संविधानको धारा ७६(२) बमोजिम नेकपा एमालेसहित सात दलको समर्थनमा प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। यसरी नियुक्त प्रधानमन्त्रीले संसदबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।











