काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीयसँग छलफल नगरी खुलामञ्चको काम अगाडि नबढाइने बताएकी छन्। खुल्ला मञ्चलाई खुल्ला राख्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका सम्पदा अभियन्तासँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन्।
‘खुल्ला मञ्चको आफ्नै महत्व छ। त्यसलाई कसरी काम अगाडि बढाउने नबढाउनेतर्फ महानगर अगाडि बढेको छैन। डिपिआर नै तयार भएको छैन्,’ उनले भनिन्,‘अब बनाउने नबनाउने विषयमा जनता (स्थानीय)सँग छलफल नगरी अगाडि बढ्ने तयारी भएको छैन।’
काठमाडौं महानगरले खुला मञ्चमा पार्किङ बनाउने तयारी गरेसँगै अभियन्ताले सो योजनाको विरोध गर्दै आएका छन्। सोमबार अभियान्ताले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए।
तर, मेयर बालेनले स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरे। मेयरलाई माघको पहिलो हप्तासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेललाई अकुपाई टुँडिखेलका प्रवक्ता सन्जय अधिकारीले बताए। साह नआएपछि उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ज्ञापनपत्र बुझेका थिए।










