चितवन । नेपालीहरूको महान् पर्व बडा दशैं, तिहार, नेपाल संवत् ११४६ तथा छठ पर्व २०८२ का अवसरमा फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
संघको सभा हलमा आयोजित उक्त कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथि तथा उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष र वस्तुगत समिति संयोजक नारायण प्रधान विशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा अध्यक्ष पौडेलले उपस्थित सबै अतिथिलाई स्वागत गर्दै पर्वको शुभकामना व्यक्त गरे । उनले वर्तमान बजारको अवस्थाबारे जानकारी दिँदै व्यवसायीहरूको हितमा संघ सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी प्रमुख अतिथि सुमन कुमार श्रेष्ठले शुभकामना आदानप्रदान गर्दै बजार सुधारका लागि उद्योग वाणिज्य संघले गर्दै आएको पहल, विशेषगरी फुटपाथ व्यापार नियन्त्रण र पोके व्यापारीको अन्त्यका प्रयासबारे प्रकाश पारे । उनले बजारलाई अझ सुदृढ र व्यवस्थित बनाउने योजनाबारे पनि जानकारी दिए ।
कार्यक्रमका संयोजक वरिष्ठ उपाध्यक्ष टंकप्रसाद सापकोटाले कार्यक्रम समापन गरेका थिए भने सञ्चालन संघका सचिव बिपिन रिजालले गरेका थिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष विजय प्रकाश टण्डुलकर, हरि शर्मा पौडेल, हेमराज पौडेल, माधव अधिकारी, वर्तमान अध्यक्ष शंकर प्रसाद घिमिरे लगायत संघ र सहकारीका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
संघका प्रवक्ता सन्तोष पोखरेलका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र यसले व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न सहयोग पुर्याएको बताइएको छ।











