चितवन । उद्योग वाणिज्य संघ चितवनले वर्तमान अवस्थाको वारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर ध्यानाकर्षण गराएको हो ।
भेटघाट कार्यक्रममा संघले अर्थतन्त्र जोगाउनको लागि सरकारद्धारा ठोस कदम चालिनुपर्ने धारणा राखेको हो । हाल बैंकद्धारा गरिएको ब्याजदरको बृद्धि, राष्ट्रिय तथा अन्तराष्ट्रिय असहजता, मुल्यबृद्धि लगायतका कारणले गर्दा आर्थिक क्षेत्र तहसनहस भएको बताउंदै नेपाल राष्ट्र बैंकद्धारा ल्याएको चालु पूंजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तिमा २ बर्ष स्थगन गर्नका लागि अनुरोध गरिएको छ ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले सडक डिभिजन कार्यालय चितवनद्धारा यहि पौष ८ गते देखी भरतपुरको नारायणगढको पुलचोदेखि गोन्द्राङ सम्मको सडकको दायाँ बायाँ तर्फका संरचनाहरु अव्यवस्थित रुपमा डोजर लगाई भत्काउंदा व्यवसायीको ठुलो क्षति भएको जानकारी गराए ।
भेटमा अध्यक्ष श्रेष्ठले कोभिड १९, तत्पश्चात सिर्जित परिस्थिति र ब्याजबृद्धिका कारण चेपिएका व्यवसायीलाई पुष मसान्तको संघारमा आई आफ्नो सामान व्यवस्थित गर्ने समयसम्म नदिई डोजर लगाइएको सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउंदै भरतपुर महानगरपालिकाद्धारा पनि संरचना भत्काउने सन्दर्भको ३५ दिने सूचना प्रकाशन गरिएको बताए ।
संघको टोलीले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो । टोलीमा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यसमिति सदस्य राजन पियाको सहभागिता रहेको थियो ।














