काठमाडौं । गृह मन्त्रालयले सरुवा र पदस्थापनपछि खटाएको स्थानमा हाजिर हुन दिएको २४ घण्टे उर्दी कर्मचारीले टेरेका छैनन् ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गर्दै तोकिएको स्थानमा जान निर्देशन दिएको थियो । त्यो निर्देशन आइतबारसम्म कसैले पालना नगरेको शाखा स्रोतले जानकारी दियो ।
‘२४ घण्टे उर्दी अहिलेसम्म कसैले पालना गरेको देखिएको छैन । उर्दी पालना नगरेपछि आइतबारबाट हाजिरीमा रातो लगाउन थालिएको छ,’ निजामती कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने । मन्त्रालयले वेभ पोर्टलमा शुक्रबार सूची सार्वजनिक गर्दै १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको थियो ।
खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा छन् । उनीहरू आइतबार पनि मन्त्रालयमै उपस्थित भएर निर्णय कार्यान्वयन नगर्न दबाब दिइरहेका थिए ।











