काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विरुद्ध महामन्त्री गगन थापा भिड्ने भएका छन् । संस्थापनइतर समूहले महामन्त्री थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने सहमति गरेको छ।
नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।
थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। उक्त भेलामा बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा पनि सहभागी हुनेछन्।
सभापति एवं प्रधानमन्त्री देउवाविरूद्ध महामन्त्री थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएपछि पार्टीभित्र बहुमत प्राप्त देउवाका लागि चुनौती खडा भएको छ। कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। दलको नेता चयनका लागि भोलि निर्वाचन हुने तालिका रहेको छ।











