काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्।
शनिबार ललितपुर महानगरपालिकाको १ सय ४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने बताए।
अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ थियो । उनले मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको जिकिर गरे।
मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए।
उनले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका यसमा हुनुपर्ने उल्लेख गरे । उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भुमिका खेल्नुपर्ने बताए।
‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन। मेट्रो चलाउनैपर्छ। आज निर्णय गर्न सक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ। मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के त ? सस्तो पनि त हुनुपर्छ ।’ उनले भने, ‘अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने रु तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन । यसको निमित्त हामीले मेट्रो नल्याइकन सुखै छैन । महंगो भयो भनेर वास्तै नगर्ने ? यो हुँदैन।’
मेयर महर्जनले आफ्नो दोस्रो कार्यकालमा अझै बढी काम गरेर देखाउने दाबी गरे।











