काठमाडौं । आज विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरण: हाम्रो दायित्व ‘ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि विश्वभर मनाउँदै आइएको यो दिवसको मुख्य उद्देश्य वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ ।
नेपालमा विश्व वातावरण दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्था, सरकार निकाय र स्थानीय तहले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।
विश्व वातावरण दिवसको अवसरमा चितवनमा सरसफाई तथा वृक्षारोपण गरिँदै छ । भरतपुरको गोन्द्राङदेखि केन्द्रिय बसपार्क चोकसम्म हुने बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायत सहभागी हुँदै छन् ।
त्यस्तै, कालिकाको चतुर्मुखी सामुदायिक वनमा सहमति संस्थासँगको सहकार्यमा वृक्षारोपण गरिँदै छ । यसबाहेक पनि जिल्लाका विभिन्न स्थानमा सरसफाई तथा वृक्षारोपणका कार्यक्रमहरु आयोजना गरिएका छन् ।










