भरतपुर । चितवनमा चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म २८० वटा नयाँ साना उद्योग दर्ता भएका छन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार यस अवधिमा २५५ वटा उद्योगको लगतकट्टा अर्थात् बन्द भए । पाँच लाखदेखि १५ करोड रूपैयाँसम्म पुँजी भएका उद्योगहरु यो कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । गत आवमा ४३९ वटा नयाँ उद्योग दर्ता हुँदा ३६७ उद्योगको लगतकट्टा गरिएको थियो । १८६ उद्योगले पुँजी वृद्धि गरेका थिए ।
चालू आवको १० महिनामा दर्ता भएका नयाँ उद्योगहरुमा उत्पादनमूलक ५०, कृषिमूलक १२०, पर्यटनमूलक १० र सेवामूलक १०० वटा रहेको उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले बताए । बन्द भएका २५५ उद्योगमध्ये उत्पादनमूलक ५५, कृषिमूलक १२५, पर्यटनमूलक २१ र सेवामूलक ५४ वटा रहेको उनले जानकारी दिए । चालू आवमा ९८ उद्योगले पुँजी वृद्धि गरेको पौडेलले बताए । उनका अनुसार दुई हजार १७ उद्योगले नवीकरण गराएका छन् भने १२ उद्योगले उद्देश्य थप गरेका छन् ।
त्यस्तै, पाँच लाखदेखि पाँच करोड रूपैयाँसम्म पुँजी भएका वस्तु तथा सेवाका खरिद–बिक्री गर्ने व्यवसाय प्रदेश सरकारमातहतको यस कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था छ । चालू आवको १० महिनामा त्यस्ता ३२५ वटा नयाँ व्यवसाय दर्ता भएकामा ३५४ व्यवसाय बन्द भएको पौडेलले जानकारी दिए । दुई हजार ६३२ व्यवसायको नवीकरण र १७० व्यवसायको पुँजी वृद्धि भएको उनले बताए ।
राज्यको नीतिका कारण उद्योगहरु बन्द हुने क्रम जारी रहेको चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे बताउँछन् । ‘सरकारी नीति तथा कार्यक्रम साना उद्योगीहरुका लागि कहिल्यै आएन, हाम्रो पहलमा मात्रै सीमित भयो । सधैँ पहुँचवालाको मात्रै नीति कार्यक्रम आयो’, उनी भन्छन्, ‘आर्थिक मन्दीका कारण उद्योगहरु धराशायी भएका छन् ।
उद्योगहरु बन्द हुने क्रम जारी छ ।’ बैंकहरुले पनि साना उद्योगहरुलाई कहिल्यै सहयोग नगरेको उनले बताए ।
सहज तरिकाले उद्योग तथा व्यवसाय स्थापना, पुँजी वृद्धि एवम् नवीकरण गर्नका लागि कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख पौडेल बताउँछन् । ‘सेवाग्राहीले अनलाइन प्रणालीबाटै राजस्व भुक्तानी गर्न सक्नुहुन्छ, हामीले एकद्वार प्रणालीबाट सेवा दिँदै आएका छौँ । सेवाग्राहीहरु कागजपत्र बोकेर कोठा–कोठामा चाहर्न पर्दैन’, उनी भन्छन्, ‘अलिकति हुलाक टिकटमा समस्या छ ।’
हुलाक टिकट कार्यालयले खरिद गरी बिक्री गर्न नपाउने भएकाले सेवाग्राही आफैँले किनेर ल्याउनुपर्ने उनले बताए । कार्यालयमा अपाङ्गमैत्री शौचालय निर्माण गरिँदै छ भने सौन्दर्यीकरणका कामहरु पनि भइरहेको छ । ‘हामीले कुनै पनि काम गर्न कार्यालयमा पुग्नै नपर्ने गरी अनलाइनबाटै नवीकरणको निस्सा निकाल्न मिल्ने प्रणालीको विकास गर्न प्रस्ताव गरेका छौँ’, उनले भने ।
कार्यालयले चालू आवको १० महिनामा तीन करोड १८ लाख १० हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । सबैभन्दा धेरै व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट तीन करोड चार लाख सात हजार रूपैयाँ सङ्कलन भएको हो । कार्यालयले गत आवमा तीन करोड ५५ लाख ९४ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।










