काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो।
पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो। ओसुसमाने डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका मुआनीले मैदान छिरेको पहिलो मिनेटमै गोल गरेका थिए। उनले डिबक्सभित्र केलियन एमबाप्पेले मोरोक्कोका रक्षकलाई छल्दै दिएको पासमा पोस्ट नजिकबाट गोल गरे। मुआनीको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।














