काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको बताएका छन्।
आज ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए।
भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको उनको भनाइ थियो।उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको दाबी गरे।
सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकूल अवस्थाबाट अनुकूलतातर्फ लैजान सरकारले काम गरिरहेको उनको भनाइ थियो।
अर्थतन्त्रमा आएको अफ्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरु दिएर नभइ देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको उनले बताए । सरकारले शुक्रवार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने बताए।











