काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको बा प्र०१–००६ ख ७०७२ नम्बरको बस मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति १ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो। सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको टोलीले घाइतेको उद्धार गरेको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए।
प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। हेटौंडा अस्पतालमा १० जना र मकवानपुर सहकारी अस्पतालमा अन्य घाइतेको उपचार भइरहेको छ।










