चितवन। प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । भरतपुरको ६ लेनको सडक उदघाटन लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन्।
उनका साथमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि आउँदै छन् ।
भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनमा विस्तार भएको छ ।
तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइन् ।
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५।५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।
प्रधानमन्त्री ओलीले आजै इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकिय भवन र नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन गर्नेछन् । त्यस्तै, निर्माणाधीन नारायणगढ–बुटवल सडकको निरीक्षण गरी नवलपुरका एमाले प्रतिनिधिसँग उनले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।










