काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबारे मुख खोलेका छन्।
नयाँ वर्ष २०८२ सालको शुभकामना दिन आइतबार जारी गरेको भिडिओ सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा उल्लेख गरेका हुन्।
तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए। केही सांसदहरूले तीनकुने घटनामा पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने धारणासमेत व्यक्त गरेका थिए।
तीनकुने घटनापछि पूर्वराजा शाहले अभिव्यक्ति दिएका थिएनन्।
तर नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा व्यक्त गरेका छन्।
‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।











