काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया पूर्ण रुपमा नटुंगिएसम्म आचारसंहिता लागू नै रहने जनाएको छ। आचारसंहिता कार्यान्वयनका सम्बन्धमा कानूनले स्पष्ट रुपमा आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र निर्वाचनका सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म लागू नै रहने बताएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले तोकिएको समयमा आचारसंहिता लागू भएको र निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म लागू नै रहने स्पष्ट पारे। उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले नसकिएकाले आचारसंहिता पनि लागू नै रहने बताए।
उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको टुंगो लागिसकेपछि हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिटमध्ये वर्ग समूह मिलाएर बन्दसूचीबाट सांसदको नाम पेश गर्नुपर्ने उल्लेख गरे। उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए।











