काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिले जडीबुटी खरिद गर्नका लागि बोलपत्र आह्वान गर्छ । प्रायः एउटा मात्रै कम्पनीको बोलपत्र निवेदन पर्छ । अनि ठेक्का पाउने कम्पनीले २५ प्रतिशत जति जडीबुटी ल्याउँछ । समय सकिन्छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, सिंहदरबार वैद्यखानाको एकपछि अर्को ठेक्का हात पार्ने ‘न्यु लक्ष्मी सप्लायर्स’ को लापरबाहीले आयुर्वेदिक औषधीको उत्पादन ठप्प छ । निजी क्षेत्रबाट सञ्चालित आयुर्वेद औषधी उद्योग र भारतबाट वार्षिक करोडौँको औषधी आयात भइरहँदा ठेकेदार कम्पनीले सिंहदरबार वैद्यखानालाई ठेक्काको २५ प्रतिशतसम्म मात्रै जडीबुटी दिन्छ तर २०५७ देखि सोही कम्पनीले ठेक्का पाउँछ ।
सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीका अनुसार जेठमा ठेक्का लगाइए पनि मङ्सिर दोस्रो सातासम्ममा जम्मा २५ प्रतिशत जडीबुटी पनि ठेकेदार कम्पनीले उपलब्ध गराएन । उनले भने, “स्वास्थ्य मन्त्रालय गएरै सप्लायर्स कम्पनीका सञ्चालकसँग छलफल भयो । मन्त्रीकै अगाडि दिन्छु, दिन्छु भने पनि सामान आएन । त्यसपछि हामीले ठेक्का खारेजी प्रक्रिया अघि बढाउन बाध्य भयौँ ।”‘न्यु लक्ष्मी सप्लायर्स’ का सञ्चालक मनश्याम विष्टले सिंहदरबार वैद्यखानाका कर्मचारीले सामान नबुझेर जडीबुटी आएन भनेको दाबी गरे । उनका अनुसार जेठमा ९० लाख रुपियाँको बोलपत्र आह्वान भएको थियो ।
उनले भने, “वैद्यखानाले उपलब्ध गराएको भण्डारमै छ सामान तर वैद्यखानाले सामान बुझेको छैन । ९० लाख रुपियाँको ठेक्कामा ७५ लाख रुपियाँको कार्यादेश कम्पनीले पाएको हो । वैद्यखानाले २०र२२ लाख रुपियाँ भुक्तानी पनि गरिसकेको छ । भुक्तानी हुन बाँकी १० लाख रुपियाँ जति छ । १०र१२ लाख रुपियाँको सामान गोदाममै छ ।” सञ्चालक विष्टले मागे जति जडीबुटी दिन तयार रहेको बताए पनि उनकै हिसाबमा पनि भुक्तानी भएको, भुक्तानी लिन बाँकी र गोदाममा भएको गरी ४० लाख रुपियाँको मात्रै औषधी आएको देखिन्छ । उनले कात्तिक २७ गतेसम्म सामान बुझेको, मङ्सिर ७ गतेसम्म बिल पनि लिएको भए पनि मङ्सिर १३ गते सम्झौता खारेज गर्ने गरी छलफल अघि बढाएको जिकिर गरे । उनले भने, “ठेक्काको समय सकिन ५५ दिन बाँकी रहँदा बैङ्क ग्यारेन्टी जफतको पत्र आयो । सामान नबुझेर बैङ्क ग्यारेन्टी जफत गराउनेतर्फ लाग्नुभयो । हामीले सामान दिने भन्दाभन्दै यसो गरेपछि मुद्दा हालेका छौँ ।”
सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले एउटा औषधी बनाउन १५ थरी जडीबुटी आवश्यक पर्ने भएमा न्यु लक्ष्मी सप्लायर्सले छदेखि १० वटासम्म जडीबुटी मात्रै ल्याउने गरेको बताए । उनले भने, “आधा, अधुरो जडीबुटी लिएर आएर बुझ्न भन्छन् । अनि कसरी बुझ्ने ?”












