कुलप्रसाद काफ्ले
चितवनको कालिका नगरपालिका–१० जिङ्लाउका गोपाल चेपाङको परिवारले तरकारी पकाउँदा चिउरीकै घिउ प्रयोग गर्छन् । उनको भान्छामा चिउरीको घिउ प्रयोग भएपछि बजारिया तेल किन्ने पैसा जोगिएको छ । ‘चिउरीको घिउ भएपछि वर्षभरि चाहिने तेल किन्न ऋण लिनुपरेको छैन’, उनी भन्छन्, ‘हरेक वर्ष हामीलाई चाहिने घिउ हामी आफै उत्पादन गर्छौँ ।’ असार–साउनमा सङ्कलन गरेको चिउरीको बियाँबाट चेपाङले घिउ निकाल्छन् । अनिकालका बेला चेपाङले चिउरी खाएरै जीवन धान्ने गर्छन् ।
चिउरीको बियाँलाई घाममा सुकाएपछि मसिनो हुने गरी कुटिन्छ । त्यसपछि त्यसलाई बफाइन्छ । बफाइएको बियाँलाई बाँसको चोया (प्यार)मा राखी दुई वटा काठको बीचमा पारेर च्यापेपछि घिउ निस्किन्छ । यसरी तयार गरिने घिउ चेपाङ समुदायमा तरकारी पकाउन भुटनको रुपमा प्रयोग गरिदैं आएको पाइन्छ । रैथाने सीपबाट पनि थाहा हुन्छ, ‘चिउरी चेपाङका समुदायका लागि प्राण जस्तै हो ।’
अल्पसंख्यक तथा सीमान्तकृत चेपाङ जातीको लागि चिउरी आम्दानीको प्रमुख स्रोत हो । चिउरीको पाकेको फल बेचेर पनि चेपाङले आम्दानी गरिरहेका छन् । उनीहरु पाकेको चिउरी डोकोमा राखेर बेच्नका लागि सहरी क्षेत्रमा आएका भेट्टिन्छन् । चेपाङ र चिउरीबीच परम्परागत सम्बन्ध छ । बिहे गरेर जान लागेकी छोरीलाई चिउरीको बोट उपहार दिने चेपाङ समुदायमा चलन छ ।
बागमती प्रदेशको नमुना कार्यक्रम
चेपाङ समुदायमा चिउरीफल व्यक्तिगत उपयोग र आयआर्जनको माध्यम बनेको छ । यही महत्व बुझेरै बागमती प्रदेश सरकारले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम’लाई कार्यान्वयनमा ल्याएको छ । चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकारको यो नमुना कार्यक्रम हो । प्रदेशको चितवन, मकवानपुर र धादिङका ६ स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ । गत आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम कार्यान्वयनमा गएको छ । स्थानीय तहहरूले यस आर्थिक वर्ष २०८१/८२ मा कार्यक्रम अन्तर्गत विभिन्न योजनाहरू प्रस्ताव गरेका छन् ।
चेपाङ समुदायको उत्थानका लागि प्रदेश सरकारले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ जारी गरेको छ । निर्देशिका २०८० माघ २५ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो । आर्थिक एवम् सामाजिक रूपमा विपन्न तथा पिछडिएको सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको क्षेत्रमा उनीहरूको जीविकोपार्जनको लागि चिउरी र चमेरो कार्यक्रम सञ्चालन गरिएको हो । यसले चेपाङ समुदायको जीवन स्तरमा सुधार ल्याई गुणस्तरीय जीवनयापनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
चेपाङको जीवनशैलीमा परम्परादेखि जोडिएको चेपाङ, चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्दै आर्थिक उपार्जन र वातावरण संरक्षणमा आबद्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । त्यस्तै, चमेरोको संरक्षणका लागि यसको प्रजनन्, उपयोग र संरक्षण सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने र चिउरी संरक्षणका लागि जग्गा व्यवस्थापन, रोपण, संरक्षण, उत्पादन वृद्धि र चिउरीजन्य उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने सरकारको लक्ष्य रहेको छ ।
चेपाङ, चिउरी र चमेरो कार्यक्रम बागमती प्रदेशको मकवानपुरको राक्सिराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका र धादिङको गजुरी गाउँपालिका र वेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन भएको छ । सम्बन्धित पालिकाको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ भने समग्र कार्यक्रमको प्रतिवेदन तयार गर्ने जिम्मेवारी सम्बन्धित पालिकाको हुने व्यवस्था छ ।
सामाजिक विकास मन्त्रालय मातहतका सामाजिक विकास कार्यालयले चिउरी र चमेरो कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । सामाजिक विकास कार्यालय मकवानपुरले चितवनको तीन पालिका र मकवानपुरको एउटा पालिकामा यो कार्यक्रम कार्यान्वयन गर्दै छ भने सामाजिक विकास कार्यालय धादिङले जिल्लाका दुई पालिकामा काम गर्दै छ ।
सामाजिक विकास कार्यालय मकवानपुरका प्रमुख गोपालप्रसाद कँडेलका अनुसार, चार वटै पालिकाले कार्यक्रम कार्यान्वयनको लागि प्रस्ताव पेस गरिसकेका छन् । पालिकाहरूले समन्वयात्मक बैठक, अनुगमन लगायतका शीर्षकमा बढी बजेट माग गरेको प्रमुख कँडेल बताउँछन् ।
कार्यक्रम कार्यान्वयन र बजेट निकासा लगायतका विषयमा स्थानीय तहहरूसँग पुनः सम्झौता हुने चरणमा छ । प्रदेशको ८० प्रतिशत र स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा कार्यक्रम कार्यान्वयन हुने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । एउटा पालिकालाई १० देखि १२ लाख रुपैयाँसम्म दिने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकास कार्यालय मकवानपुरले स्थानीय तहहरूलाई नै चिउरी वृक्षारोपण, संरक्षण, चिउरीका बिरुवाको कलमी, नर्सरी स्थापना गर्ने जिम्मेवारी दिएको छ । यसैगरि विद्यालय, पालिका र सामुदायिक तहमा डढेलोबाट हुने क्षति न्यूनीकरण, चमेरोका बारेमा सचेतनामूलक लगायतका कार्यक्रमका लागि समेत सो बजेट विनियोजन गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ ।
चेपाङ समुदायलाई यस कार्यक्रम मार्फत जीविकोपार्जनमा जोड्ने प्रदेश सरकारको मुख्य उद्देश्य हो । कार्यक्रम अन्तर्गत चिउरीको फल र घिउ उत्पादन, मौरी पालन, पर्यटन लगायतका प्रवद्र्धन र बजारीकरणमा सहयोग गरिनेछ । चिउरीको पराग सेचनका लागि चमेरोको भूमिका महत्वपूर्ण रहेको कँडेलले बताए । सामाजिक विकास कार्यालय धादिङले यस कार्यक्रमको लागि २५ लाख रुपैयाँ छुट्याएको छ ।
यी हुन् योजना
यस कार्यक्रम अन्तर्गत चिउरीको वृक्षारोपणका लागि जग्गाको पहिचान, एकीकरण, हावापानी अनुकूल बिरुवा उत्पादन, वितरण र संरक्षण गर्ने योजनाहरू रहेका छन् । चमेरो संरक्षणका लागि चमेरोको प्रजनन, आहार विहार र संरक्षणमा योगदान पु¥याउने खालका अनुसन्धानमा आधारित कार्यक्रम सञ्चालन गरिने छ भने मौरी चरिचरनको संरक्षण, महको उत्पादकत्व वृद्धि एवम् उत्पादित महको बजारीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।
चिउरी वन क्षेत्रमा छोटो समयमा उत्पादन दिने अदुवा, खुर्सानी लगायतका सहायक बाली लगाउन प्रोत्साहित गरी बजारीकरणमा सहयोग गर्ने र चिउरीजन्य उत्पादनको महत्वबारे जनचेतना अभिवृद्धि, उत्पादनको सङ्कलन, प्रशोधन, भण्डारण, विक्री वितरण एवम् बजारीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।
कार्यक्रम सञ्चालन भएको क्षेत्रका विद्यालय र चेपाङ समुदायमा चेपाङ, चिउरी तथा चमेरोको पारिस्थितिक प्रणाली र चेपाङ संस्कृतिका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । चिउरी पकेट क्षेत्र एवम् चेपाङ सर्किटलाई पर्यटकीय क्षेत्रको रूपमा प्रवद्र्धन र विकास गर्ने लक्ष्य राखिएको छ ।
यो कार्यक्रम सञ्चालन गर्नका लागि सामाजिक विकास मन्त्रीको अध्यक्षतामा ६ सदस्यीय निर्देशक समिति गठन गर्ने प्रावधान छ । समितिले कार्यक्रम कार्यान्वयनको लागि नीति तथा मापदण्ड तय गर्ने, अन्तर मन्त्रालय र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन गरी पृष्ठपोषण र निर्देशन दिने तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहजीकरण गर्नेछ । कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा कार्यान्वयन समिति बनेका छन् । स्थानीय तहको उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा छ सदस्यीय कार्यान्वयन समिति बन्ने व्यवस्था छ ।
औषधीय गुण
जाडोको मौसममा हात गोडा फुटेमा, बाथको समस्याले सताएमा चिउरीको घ्यु लगाएर मालिस गर्नाले धेरै राम्रो गर्दछ । चिउरीको गेडालाई पिसेर लगाउनाले शरीरमा जुका टाँसिएको बेला जुका आफै शरीरबाट झर्छ । अनुहारमा दाग हटाउन यसको प्रयोग गरिन्छ । घुँडा, कुहिना, जोर्नीहरू दुखेमा चिउरीको घ्यु लगाएर मालिस गर्नाले आराम मिल्ने गर्दछ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङका सन्तबहादुर चेपाङ, चेपाङ समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन् । उनी बागमती प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री भएका बेला चिउरी र चमेरो कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । गत आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको यस कार्यक्रमको लागि प्रदेश सरकारले पर्याप्त बजेट नछुट्याएको उनी बताउँछन् ।
‘चिउरी चेपाङको आम्दानीको स्रोत हो । चिउरीको रस चुसेर मौरीले मह उत्पादन गर्ने र चिउरीको बीयाँलाई पेलेर घिउ निकाल्न पनि सकिन्छ । घिउ निकालेपछि रहेको पिना खेतीपातीमा प्रयोग गर्दा त्यसले जैविक विषादीको काम गर्छ’, उनले भने । चिउरीको परागसेचनमा मद्धत गर्ने चमेरो मारेर खाने चलन चेपाङ समुदायमा छ । चिउरीको उत्पादन बढाउन चमेरोको भूमिका महत्त्वपूर्ण रहेकाले चमेरोको संरक्षण पनि उत्तिकै आवश्यक रहेको उनले बताए । ‘चमेरो नलागेको रुखमा चिउरी धेरै फल्दैन,’ उनले भने ।
चेपाङ समुदायमा विगतमा बिहे गरेर जान लागेकी छोरीलाई चिउरीको रुख दाइजोका रूपमा दिने चलन पनि थियो । छोराहरू बीच अंशबन्डा गर्दा चिउरीका रुखहरू पनि बाँड्ने चलन रहेको उनी बताउँछन् । ‘चेपाङहरू सधैँ अरूले सहयोग गरेको भरमा बाँच्नु हुँदैन । आत्मनिर्भर हुनुपर्छ । जीविकोपार्जन पनि गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याइएको हो । व्यवसायीक रूपमा चिउरी खेती गरी चेपाङको आर्थिक स्तर उकास्न कार्यक्रम उपयुक्त छ’, उनले भने, ‘तर, वर्षको ५० लाख मात्रै दिएर यो कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुन सक्दैन ।’ यो कार्यक्रमको लागि वार्षिक कम्तीमा ५० करोड रुपैयाँ छुट्याउनुपर्ने उनी बताउँछन् । चिउरी र चमेरो कार्यक्रम अन्तर्गत हुने विभिन्न योजनाहरूको जिम्मा चेपाङ समुदायलाई नै दिनुपर्ने उनको भनाई छ ।
चेपाङको जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ/प्रजाको जनसङ्ख्या ८४ हजार ३६४ जना अर्थात् ०.२९ प्रतिशत छ । बागमती प्रदेशमा मात्रै ७७ हजार ९१४ जना चेपाङ/प्रजा छन् । बागमती प्रदेशमा सबैभन्दा धेरै चेपाङको बसोबास भएको जिल्ला हो चितवन । चितवनमा ३५ हजार ६३७ जना चेपाङ/प्रजा छन् । मकवानपुरमा २३ हजार ६५० जना र धादिङमा १७ हजार १६० जना चेपाङ/प्रजा रहेको सरकारी तथ्याङ्क छ ।
कार्यक्रम कार्यान्वयन भएको चितवनका तीन पालिकामा चेपाङको जनसङ्ख्या हेर्दा सबैभन्दा धेरै राप्ती नगरपालिकामा छन् । ६६ हजार ६१७ जनसङ्ख्या भएको राप्तीमा ११ हजार ९१३ जना चेपाङ/प्रजा छन् । कालिका नगरपालिकाको जनसङ्ख्या ५२ हजार १६४ रहेको छ । यो पालिकामा ८ हजार ८०६ जना चेपाङ/प्रजा छन् । ब्राह्मण पछि चेपाङ/प्रजाको धेरै बसोबास रहेको पालिका हो यो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा चेपाङ/प्रजा बहुसङ्ख्यक रहेका छन् । २७ हजार ६४३ जनसङ्ख्या रहेको इच्छाकामनामा १० हजार ३३८ जना चेपाङ/प्रजा छन् ।
कार्यक्रम कार्यान्वयनको स्थिति
चितवन कालिका नगरपालिकाको कृषि शाखा प्रमुख गौरव रानाभाटले चालु आवमा चिउरीका बेर्ना वितरण, चिउरी र चमेरो संरक्षण सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम लगायतका योजना समेटेर प्रस्ताव पेस गरिएको बताए । ‘यो प्रदेश सरकारको कार्यक्रम भएकाले हामीले प्रस्ताव पेस गरेका छौँ । स्वीकृत भएपछि कार्यक्रम अगाडि बढ्छ’, उनले भने । उनका अनुसार गत आर्थिक वर्षमा कालिका–१० र ११ मा करिब ६ सय वटा चिउरीका बिरुवा रोपिएको थियो । चिउरी र चमेरो कार्यक्रमको लागि प्रदेश सरकारले कालिकालाई गत आवमा ७ लाख ७५ हजार रुपैयाँ बजेट दिएको थियो ।
‘गत वर्ष चिउरीको नर्सरी बनाउने र बिरुवा उमारेर वितरण गरिएको थियो । चेपाङ र चेपाङको घर वरपरको चिउरीको रुखबारे तथ्याङ्क सङ्कलन पनि गरिएको थियो । यस वर्ष जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने । चेपाङहरूले सिजनका बेला चिउरीको फल भरतपुर लगायतका सहरी क्षेत्रमा ल्याएर विक्री गर्न पनि थालेका छन् । चिउरीको बियाँबाट घिउ निकाल्न पनि सकिने भएकाले चेपाङ समुदायलाई यस व्यवसायमा जोड्दै उनीहरूको आर्थिक स्थितिमा सुधार ल्याउन सकिने प्रदेश सरकारको विश्वास छ ।
राप्ती नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बसोबास रहेको छ । राप्तीका नगर प्रमुख शमशेर लामाका अनुसार राप्ती–१२ नवलापुरमा गत आवमा चिउरीको नर्सरी स्थापना गरिएको छ । त्यसको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाले एक जना कर्मचारी नै खटाएको उनले बताए । यस वर्ष पनि कार्यक्रम गर्नका लागि प्रस्ताव पेस गरिएको उनको भनाई छ । ‘चेपाङको बसोबास भएको ठाउँमा चिउरी हुने र चिउरीको रुखमा चमेरो बस्ने भएकाले चेपाङ, चिउरी र चमेरोबीच अन्तरसम्बन्ध रहेको छ । लोपोन्मुख जाति चेपाङको संरक्षणका लागि प्रदेश सरकारले ल्याएको कार्यक्रम नमुना कार्यक्रम हो’, उनले भने ।
इच्छाकामना गाउँपालिकाको कृषि शाखा प्रमुख समीक्षा पौडेलका अनुसार, गत आवमा चेपाङ समुदायको धेरै बसोबास भएका वडाहरू १, २ र ६ मा चिउरी र चमेरो संरक्षणका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस्तै, व्यक्तिगत, सामुदायिक र अन्य स्थानका चिउरीका रुखको गणना र चमेरोको वासस्थानको पहिचान गर्ने काम गरिएको शाखा प्रमुख पौडेलले बताएकी छन् ।
गाउँपालिकाको सात वटै वडामा चेपाङ समुदायको बसोबास रहेको छ । चालु आवमा चिउरीको नर्सरी स्थापना, वृक्षारोपण, संरक्षण सम्बन्धी अभिमुखीकरण जस्ता योजना माग गरिएको छ । गत आवमा सात लाख ७५ हजार रुपैयाँ प्रदेश सरकारले दिएको थियो । त्यसमा २० प्रतिशत रकम थप गरेर गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । गत आवमा अन्तिम तीन महिना समय बाँकी छँदा मात्रै प्रदेशले बजेट दिएको थियो । यस आवमा पनि बजेट दिन ढिला भइसकेको छ । प्रदेशले दिने बजेट आर्थिक वर्षको सुरुवातमै दिन सके कार्यक्रमलाई प्रभावकारी हुने स्थानीय
चिउरी र चमेरोको सम्बन्ध
चेपाङ बा भनेर चिनिने केपीकिरण शर्माले रत्ननगरमा चेपाङ संरक्षण केन्द्र सञ्चालन गर्दै आएका छन् । शर्माले चेपाङ जातिको शैक्षिक विकासमा योगदान दिँदै आएका छन् । चेपाङ संरक्षण केन्द्रले बिहान बेलुकाको छाक टार्नै नसक्ने एवम् अत्यन्तै विपन्न सिमान्तकृत चेपाङका बालबालिकाहरूलाई उद्धार गरी निःशुल्क आश्रय दिने र पढाउने काम गरिरहेको छ । शर्मा चितवनमा चेपाङ बसोबास गरेको ठाउँमा नपुगेको सायदै होला ।
चेपाङ समुदाय लक्षित बागमती प्रदेशको चिउरी र चमेरो कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिए चेपाङको संरक्षणमा ठूलो उपलब्धि हासिल हुने शर्मा बताउँछन् । ‘पालिकाहरूले चिउरीको नर्सरी बनाउने र वृक्षारोपण गर्ने काम गरिरहेका छन् । चेपाङलाई आत्मनिर्भर नै बनाउने गरी प्रभावकारी ढङ्गबाट काम भएको छैन’, उनले भने । चमेरो मार्न हुँदैन भन्ने जनचेतना सबै चेपाङसम्म नपुगेको शर्माको भनाइ छ ।
चिउरी फुल्न सुरु भएपछि फुलको रस चुस्न चिउरीको रुखमा चमेरो झुम्मिने गर्छन् । चमेरो एक स्तनधारी जीव हो । एउटै चिउरीको रुखमा सयौँ चमेरा बस्छन् । ती चमेरालाई चेपाङले जाल थापेर मार्ने गर्छन् । चमेरा मार्नु भनेको चिउरीको उत्पादन घटाउनु हो भनेर चेपाङ समुदायलाई बुझाउन जरुरी छ ।
पछिल्लो पटक चेपाङहरू मौरी पालनमा पनि आकर्षित हुन थालेका छन् । चिउरीको मह महँगो मूल्यमा विक्री हुने भएकाले मौरी पालनमा उनीहरूको आकर्षण बढेको हो । चेपाङले चिउरीबाट उत्पादन गरेको घिउ आफै खान्छन् । चिउरीको घिउको बजारीकरणमा सहयोग गर्न सके उनीहरूले चिउरीबाट अझ बढी लाभ लिन सक्ने छन् । चिउरीको घिउको उत्पादन, गुणस्तर र बजारीकरणका विषयमा सरकारले कुनै अध्ययन पनि गरेको छैन ।
चितवनमा ७० प्रतिशतभन्दा बढी चेपाङले चिउरीकै घिउ खाने गरेको पाइएको छ । जेठ अन्तिमतिरबाट चिउरी पाक्न सुरु हुन्छ । साउनसम्म चिउरी पाकिसक्छ । असारपछि आवश्यकता अनुसार चिउरीको घिउ निकाल्ने गर्छन् । चिउरीको पात गाईभैंसी र बाख्रालाई मन पर्ने घाँस पनि हो । चिउरीको रुख बुढो भएपछि काठको रूपमा फर्निचर बनाउन पनि सकिन्छ । चिउरी समुन्द्र सतहबाट २०० मिटरदेखि १५ सय मिटरको उचाइमा पाइन्छ ।
सन्दर्भ सामाग्री
–चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (बागमती प्रदेश सरकार)
–राष्ट्रिय जनगणना २०७८
–‘मेरो डाक्टर’ पुस्तक
–बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम २०८१
–स्थानीय तहका प्रमुख एवम् कर्मचारीसँगको प्रत्यक्ष कुराकानी











