चितवन । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव २०७९ का मूल संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवको तयारी तिव्र पारिएको बताएका छन् । आगामी पौष २५ देखी माघ ४ गतेसम्म नारायणी नदी किनार नारायणगढमा सञ्चालन हुने उक्त महोत्सवलाई अल्फा ईलेक्ट्रोनिक्स नारायणगढले मुख्य प्रायोजन गर्ने भएको छ । आज संघको सचिवालयमा एक कार्यक्रमका वीच मुख्य प्रायोजन गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अल्फा ईलेक्ट्रोनिक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आकास गजुरेल र महोत्सव आयोजकको तर्फबाट आर्थिक समितिका संयोजक सहनलाल प्रधानले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले यस बर्षको महोत्सव पर्यटन केन्द्रित हुने बताउंदै पर्यटन मार्फत जिल्लाको आर्थिक गतिविधिमा बृद्धि हुने अपेक्षा गरिएको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् आर्थिक समितिका संयोजक सहनलाल प्रधानले महोत्सव व्यापार मात्र गर्ने थलो नभई प्रबद्र्धन गर्ने उपयुक्त अवसर भएको बताउंदै अवसरको पहिचान गरि महोत्सवमा सहभागि हुनका लागि सबैलाई अनुरोध गरे । हस्ताक्षर कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सवलाई प्रायोजन गरेकोमा अल्फा ईलेक्ट्रोनिक्स प्रति हार्दिक आभार ब्यक्त गरे । यसैगरि अल्फा इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत आकास गजुरेलले चितवनको मात्र नभै नेपालकै सफल र मेगा ईभेन्ट चितवन महोत्सवको मूल प्रायोजकको भूमिका निर्वाह गर्ने मौका दिएकामा उद्योग वाणिज्य संघ चितवन प्रति आभार व्यक्त गरे ।
मुख्य प्रायोजन गर्ने अल्फा ईलेक्ट्रोनिक्सले सुपर जेनेरल ब्राण्डका होम अप्लाइन्सेसको विक्रि वितरण गर्दै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । महोत्सवमा ५ सय भन्दा बढि स्टल रहने र हाल स्टल निर्माण स्थल सम्माउने कार्य तिव्र रुपमा भैरहेको ससंघका वरिष्ठ उपाध्यक्ष एवम् स्टल व्यवस्थापन समितिका संयोजक सुमन कुमार श्रेष्ठले बताए । साथै मंसीर १ गते देखी स्टल बुकिङ कार्य समेत धमाधम भैहेको सचिवालयले जनाएको छ ।











