काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेलाई प्रहरीले अब कात्तिक २४ गतेसम्म हिरासतमा राख्न पाउनेछ ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।










