भरतपुर । कांग्रेसबाट कारबाही भोगेका क्षेत्र न ३ का स्वतन्त्र उमेदवार दिनेश कोइरालाले सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि कांग्रेस र एमाले मिल्नुपर्ने बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित चितवनको भरतपुरमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे कोइरालाले जहानिया शासन चल्न नदिने भन्दै कांग्रेस र एमाले मिलेर जानुपर्ने बताएका हुन् ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा भोजराज अधिकारीविरुद्ध बागी उमेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ ।
कांग्रेस र माओबादीको गठबन्धनले मुलुक अगाडि जान नसक्ने कोइरालाको दाबी छ। माओबादी पार्टी स्वार्थ पूरा गर्न पालै पालो कांग्रेस र एमालेसंग मिल्ने गरेको उनले बताए। वर्तमान राजनीतिमा अस्थिरताको जड माओवादी भएको उनको आरोप छ।
नेपाललाइ श्रीलंकाको बाटोमा जानबाट रोक्न गठबन्धनलाई पराजित गर्नुपर्ने उनको भनाई छ। ‘गिरिजा प्रसाद कोइरालापछी नेपाली राजनिती केपी ओलीको वरिपरि घुमेकोले अब मुलुकलाई अगाडी बढाउन एमालेले नेतृत्व लिन आवश्यक छ,’ उनले भने, ‘जनताको अवस्था बदल्न ओलीले सक्रिय भुमिका खेल्नुपर्छ ।’
देशको नीति सहि ढंगले अगाडि नबढेको उनले बताए । भ्रष्टाचार अन्त्यको लागि १०औं वर्ष अघिदेखिको फाइल खोल्नुपर्ने उनको भनाई छ। एमाले बलियो भएकाले कांग्रेस एक्लै चुनावमा जान नचाहेको उनले बताए ।











