काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सडकका हाइटेन्सन लाइनका लागि जोखिम भएका रुखका हाँगा हटाउन थालिएको छ ।
विद्युत प्राधिकरणबाट सभा गृह हुँदै पदमोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको महानगरले जनाएको छ।
विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको हो।
हाइटेन्सन लाइनमा रुखका हाँगाले छोएर विद्युत अवरोध भएको उल्लेख गर्दै प्राधिकरणबाट सूचना आएपछि काम थालिएको महानगरले जनाएको छ। बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार जोखिमपूर्ण रुखका हाँगाहरु काटेर हटाइएका छन् ।
काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको विभागका प्रमुख सरिता राई बताउँछिन् । उनी भन्छिन्, ‘यो जैविक फोहोर हो । यसलाई पुनःप्रयोग गर्छौँ ।’











