काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिप (पीएमजीसी) मा नेपालबाट तीन टिम छनौट भएका छन् । बिहीबारदेखि सुरु भएको पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता मलेसिया र इण्डोनेसियामा करिब दुई महिनासम्म चल्नेछ ।
अघिल्लो साता सम्पन्न दक्षिण एसियाली छनोटमा दोस्रो भएको डीआरएस गेमिङ, तेस्रो स्काइलाइट्ज गेमिङ र पाँचौं भएको ट्रेण्ड टू किल (टीटूके)ले विश्व च्याम्पियनसिप खेल्ने भएका छन्।
नेपालबाट छनोट भएकामध्ये डीआरएस गेमिङ समूह रेड, स्काइलाइट्ज गेमिङ समूह ग्रीन र टीटूके गेमिङ समूह एल्लोमा परेका छन् । डीआरएसका खेलाडीहरु दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टाई हुन् ।
स्काइलाइट्जमा अजय श्रेष्ठ, युजेन लामा, अन्जन राई र निमा तामाङ तथा टीटूके टिममा अभिशेक सिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्य जस्ता स्टार खेलाडीहरु छन् ।
तेस्रोपल्ट हुन लागेको पीएमजीसीमा नेपालको डीआरएस टिम लगातार छनोट हुँदै आएको छ । उसको यो तेस्रो विश्व च्याम्पियनसिप हो । स्काईलाइट्ज र टीटूकेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्न लागेका हुन् ।











