काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । न्युन गुणस्तरका चाउचाउ भेटिएपछि काठमाडौँ महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।
महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते वाईवाई चाउचाउ जफत गरिएको थियो । २०८० साल चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. एएल÷वाईएल २३ का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । वैशाख ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट वैशाख ११ गते प्राप्त भएको हो ।
प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले न्यून गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने र कच्चा पदार्थ न्युन गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए ।
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी केओएच÷जी वेयल देखिएको छ । यसको भ्यालु १ एमजी केओएच÷जी वेयल भन्दा बढी हुनु हुँदैन ।
खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए ।