चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्मको आयव्यय विवरण आफ्नो वेभसाईटमार्फत सार्वजनिक गरेको छ । स्वतन्त्र पार्टीले फेसबुक पेजमा पोष्ट गरेको एक भिडियोमा बोल्दै रवि लामिछानेले हालसम्मको आयव्यय सार्वजनिक गरेको जानकारी दिएका छन् ।
पार्टीलाई अगाडि बढाउन सहयोग माग्दै रविले सकेको सहयोग गरेर कठिन यात्राको सारथी बन्न आग्रह गरेका छन् । ‘पैसाले चुनाव जित्न हैन, चुनाव लड्न चाहिने पैसाको जोहो हामीले गर्नुछ,’ उनले भने, ‘कुनै स्वार्थ समूहको अपारदर्शी चन्दा होइन, आम नागरिकले सकेको सहयोगको बलमा हामी मदानमा जान चाहान्छौँ ।’
इमान्दारिताका साथ एक–एक हिसाब किताब बुझाउने प्रतिबद्धता समेत उनले जारी गरेका छन् । रवि भन्छन्, ‘तपाईले आफ्नो गाँस काटेर दिएको पैसाको दुरुपयोग भएछ भने मेरो छाला काड्नुहोला ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म दुई करोड ५१ लाख ४४ हजार आठ सय ९४ आम्दानी गरेको साईटमा उल्लेख गरेको छ । जसमा सदस्यता, कर र नवीकरणबाट तीन लाख ५० हजार पाँच रुपैयाँ, अनुदान तथा सहयोगबाट एक करोड ७६ हजार चार सय नौ रुपैयाँ, प्रकाशन राजस्वबाट ५१ हजार एकसय दुई, खुला अनुदानबाट ९० लाख ३४ हजार र बन्धक अनुदानबाट ५६ लाख ३३ हजार तीनसय ७८ रुपैयाँ स्वतन्त्र पार्टीले आम्दानी गरेको उल्लेख गरेको हो ।
त्यस्तै पार्टीले हालसम्म दुई करोड ४० लाख १९ हजार आठसय ९४ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । जसमध्ये सभा–सम्मेलन खर्च २९ लाख ९७ हजार एक सय ७५ रुपैयाँ, तालिम खर्च १२ लाख ५९ हजार ४७ रुपैयाँ, कार्यालय खर्च ६७ लाख ४१ हजार चारसय ३९, प्रकाशन खर्च १८ लाख ७३ हजार एकसय ३८ रुपैँया, स्थिर सम्पत्ति खरिद वा लगानी खर्च एक करोड १० लाख ९४ हजार ९५ रुपैयाँ र सामाजिक सेवा खर्च ५५ हजार रुपैयाँ रहेको पार्टीले सार्वजनिक गरेको हो ।











