चितवन । आज तमू ल्होसार पर्व । चितवनसहित देशभरका गुरूङ समुदायले धुमधामका तमु ल्हाेसार पर्व मनाउँदै छन् ।
चितवनमा तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनले ल्होसार पर्वकाे अवसरमा आज विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै छन् ।
तमू ह्युल छोंज धींले भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बा परिसरमा धुमधामका साथ ल्होसार मनाउँदै छ ।
गएराति तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवनले बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेर कार्यक्रमलाई भव्य बनाउने प्रयास गरेको छ । सांस्कृतिक कार्यक्रममा मौलिक लोक संस्कृतिलाई प्राथमिकतामा राखएिको छोंज धीँ चितवनका अध्यक्ष सुमित गुरूङले जानकारी दिए । राति १२ बजेसम्म भएको सांस्कृतिक कार्यक्रममा मौलिक चुड्का, सोरठी, घाँटुजस्ता लोक नृत्यसँगै समुदायमा आधारित विभिन्न गीतसंगीतमा नाचगान प्रस्तुत गरिएको थियो ।
वर्ग चक्रअनुसार शनिबार राति १२ बजेपछि बिरालो वर्ग (हिल्हो)लाई बिदाइ गर्दै गरूड वर्ग (मुप्रील्हो)को स्वागत गरेर ल्होसारको विशेष दिनको सुरूवात गरिएको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् । आज तमस् ल्होसार पर्वको मुख्य दिन भएको हुँदा दिनभर शुभकामना आदानप्रदान गरिनुका साथै सांस्कृतिक कार्यक्रममार्फत कार्यक्रमलाई बृहत् बनाइने ह्युल छोंज धीँ चितवनका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरूङले बताए ।
ह्युल छोंज धीँ चितवनले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि ल्होसार सम्पन्न गर्नको लागि अध्यक्ष विमलादेवी गुरूङको ंयोजकत्वमा ५०५ सदस्यीय मूल आयोजक समिति र विभिन्न शीर्षकमा २२ वटा उपसमिति गठन गरेर तयारी गरेको थियो ।
विशिष्ट व्यक्तिलाई सम्मान गरिने
ह्युल छोंज धीँ चितवनले तमू ल्होसारको अवसर पारेर विभिन्न विधामा उच्च स्थान हासिल गरेका चितवनवासी तमूहरूलाई सम्मान गर्ने भएको छ । सम्मान तथा अभिनन्दन उपसमितिका संयोजक एवम् ह्युल छोंज धीँ बागमती प्रदेशका संयोजक गणेशबहादुर गुरूङका अनुसार जुनसुकै विषयमा विद्यावारिधी (पिएचडी) उपाधी प्राप्त गरेका, पत्रकारिता क्षेत्रमार्फत राष्ट्रियस्तरको योगदान दिएका, निजामति सेवामा प्रथम स्थान वा सो सरहको योगदान गरेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पदक जितेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
यसका साथै हरेक वर्ष प्रदान गरिँदै आएको रोहित घले स्मृति प्रतिष्ठान र निलम गुरूङ स्मृति अक्षयकोषद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको ह्युल छोंज धीँका सचिव किशोर गुरूङले जानकारी दिए । कार्यक्रमस्थलमा बिहानैदेखि विभिन्न खालका खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिता र रक्तदानलगायतका कार्यक्रम हुनेछन् ।
यता गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्था तमू प्ये ल्हु संघ चितवनले भने शुक्रबार नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर ल्होसार पर्व मनाएको छ । कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामाले प्रस्तुति दिएका थिए । बिहान नारायणगढस्थित क्याम्पाचौरबाट बृहत् झाँकीसहितको ¥याली आयोजना गरेर नदी किनार पुगेर कार्यक्रम गरेको हो ।
कार्यक्रममा तमू समुदायसँग सम्बन्धित बोन लम्, क्ल्हप्रीलगायतका पुरोहितहरूले आ–आफ्नो सांस्कृतिक नृत्य देखाएका थिए । विभिन्न इकाइबाट उपस्थित भएका समूहहरुले पनि प्रत्यक्ष कौडा, स्यार्गा, घाँटु, सोरठीलगायतका मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए ।
तमू प्ये ल्हु संघ चितवनले पुस १५ गतेको अवसर पारेर १३ गते नै कार्यक्रम आयोजना गरेको हो । १५ गतेका दिन विभिन्न इकाइहरूमा कार्यक्रम हुने हुँदा जिल्ला समितिले दुई दिन अघि नै ल्होसार मनाएको संघका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।
विगतका वर्षहरुलाई पछ्याउँदै यसवर्ष पनि दुई दिनअघि नै भव्य कार्यक्रम गरेर ल्होसार मनाएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमूले पछिल्लो समय ल्होसार एउटा समुदायमा मात्रै सीमित नभएको बताए ।
‘तमू समुदायको महान पर्व ल्होसार पछिल्लो समय सबैको साझा पर्व बनेको छ । यो हाम्रो लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘प्रविधिको युग भएर पनि होला । हाम्रो पर्व र हाम्रो कुरा धेरै ठाउँमा पुगेको छ । यो ज्यादै सकारात्मक विषय हो ।’
१६ जनालाई सम्मान
तमू प्ये ल्हु संघ चितवनले तमू ल्होसार पर्वको अवसर पारेर संघका दुई जना संस्थापकसहित १३ जना, दुई खेलाडी र एक पत्रकार गरी १६ जनालाई एउटै मञ्चमा सम्मान गरेको छ । संस्थाको उन्नतिमा योगदान दिएका र फरक क्षेत्रमार्फत तमू समुदायको पहिचानलाई थप फराकिलो बनाउन सहयोग पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिएको तमू प्ये ल्हु संघ चितवनका सचिव चित्र ‘सोल्टी’ गुरूङले जानकारी दिए ।













