चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले ७० बढी कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।
चितवन उद्योग संघका पूर्वअध्यक्षसमेत रहेका पौडेलले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा आज पत्रकारहरु माझमा आफूले गरेका कामको सूची प्रस्तुत गरेका हुन् ।
पौडेलले एमआरआई खरिद प्रक्रियादेखि क्याथल्याब जस्ता महत्वपूर्ण काम यस अवधिमा भएको बताएका छन् । अस्पतालमा कार्यभार समालेको एक हप्तामा श्वेतपत्र जारी गरी काम सुरु गरेका पौडेलले भने, ‘अस्पतालका सम्पूर्ण विभाग, वार्ड, शाखा, इकाईहरुलाई अस्पतालको विषयमा प्रश्नावली तयार गरी प्रतिक्रिया लिइएको छ ।’
वि.सं २०७९ चैत १० गतेको मन्त्रिपरिषद्बाट भरतपुर अस्पताललाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नेम्स)को आंगिक कलेज घोषणा गर्न सफल भएको उनको भनाइ छ । पौडेलले भने, ‘बिएस्सी नर्सिङ र बिएनएस सञ्चालनको स्वीकृती प्राप्त भई भर्ना प्रारम्भ भएको छ ।’
आफू अस्पतालमा अध्यक्ष भएर आएसँगै ‘यो किन भएन, त्यो किन भएन ?’ भन्ने प्रश्न आउने गरेको बताउँदै उनले पत्रकार सम्मेलनमा भने, ‘अहिले यो विषय यसरी गरे राम्रो हुन्छ कि भन्ने सुझाव आउने गरेको छ, जुन कुरालाई अत्यन्तै सकारात्मक रुपमा लिन सकिन्छ ।’ अस्पतालमा सञ्चालित विभिन्न विभाग, वार्ड, शाखा, इकाइहरुसँग आवश्यक मेशिनरी उपकरण, जनशक्ति र सेवाको सुधारको लागि प्लानिङ वर्कशप सञ्चालन गरिएको उनले जानकारी दिए । उनले अस्पतालमा सेवाग्राही गेटबाट छिर्ने बित्तिकै एक खालको आनन्द हुने गरी ब्युटिफिकेशन गरिएको बताउँदै यस कार्यलाई अझै अघि बढाइदै लगिने बताए ।
अस्पतालका गुनासाहरु सम्बोधन गर्न भदौ ८ गते सार्वजनिक सुनुवाई गरिएको छ । एकेडेमिक भवन र स्टोर भवन अस्पताल विकास समितिबाट निर्माण गर्ने निर्णय भई कार्य प्रारम्भ भएको छ । अस्पतालका विभिन्न भवन (ब्लक)हरुको बीचमा सेड सहितको कोरिडोरले बिरामीहरुलाई आवतजावतमा अत्यन्तै सहज बनाएको उनले बताएका छन् ।
यसैगरी उनले इमरजेन्सीमा अत्याधुनिक डिजिटल एक्सरे मेसिन राखेर दक्ष जनशक्तिबाट सेवा दिइएको जानकारी दिए । मृगौंलाको डाइलासिसमा विद्युत कटौतीले प्रभावित बनाउने गरेकोमा विद्युतीय पावर सप्लाईलाई चुस्त दुरुस्त बनाइ डाइलाइसिस मेसिन र जेरियाप्टिक वार्डलगायत धेरै वार्डहरुलाई वातानुकुलित बनाइएको उनको भनाइ छ ।
डाइलाइसिस मेसिनको अभावमा धेरै बिरामी सेवाबाट बञ्चित हुनु परेको गुनासो आएपछि पुरानो दुई वटाको मर्मत र आठ वटा नयाँ थप गरी १८ वटा मेशिनबाट डायलाइसिस सेवा दिइएको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘एचआईभी संक्रमितहरुलाई छुट्टै एउटा डाइलाइसिस मेशिन व्यवस्थापन गर्दैछौं ।’
पत्रकार सम्मेलनमा पौडेलले भने, ‘अस्पतालमा भर्ना भएर उपचार गराएका बिरामीको सहजतालाई ध्यानमा राखेर ईनडोर फार्मेसी सञ्चालन गरिएको छ । उक्त फार्मेसीबाट २४सै घण्टा सेवा दिन सुरु गरिएको छ । जलनका बिरामीको विशेष उपचारका लागि यस अवधिमा तीन वटा वेडसहित बर्न केयरका लागि वार्ड व्यवस्था भएको छ । वृद्धवृद्धा वार्डमा ६ वटा वेड थप गरिएको छ । कुरुवा घर सञ्चालन भएको छ भने विभिन्न ठाउँमा १०० बढी कुरुवा बस्न मिल्ने कुर्ची व्यवस्थापन भएको छ ।’
यस अवधिमा पाँच वेडको अत्याधुनिक बर्थिङ् युनिट सञ्चालनमा आउनुको साथै गाइने वार्डलाई पुनर्संरचना गरी दुई वेड पीएनसी थपिएको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘ १० वेडको गाइनो एचडीयु सञ्चालनमा ल्याइएको छ । प्रसुति सेवाका लागि आउने बिरामीको सहजताका लागि वार्डसँगै २४ सै घण्टा सञ्चालन हुने गरी टिकट र बिल काट्ने व्यवस्था गरिएको छ । एनआईसियू १२ बेडमा सञ्चालन हुँदै आएकोमा आठ वटा वेड थप गरी २० बेड सञ्चालन गरिएको छ । पीआईसियूमा ६ वटा वेडसहितको सेवा सुरु भएको छ । बच्चाहरुको लागि ५ वेडको एचडीयू निकट भविष्यमा सञ्चालन गर्ने तयारी गरिएको छ ।’
अस्पतालमा मुटु रोगीहरुको लागि चार बेडसहितको कार्डियाक वार्ड सञ्चालनमा आएको अध्यक्ष पौडेलले बताए । उनले भने, ‘ चार बेडसहित सीसीयू सञ्चालनमा आएको छ । नयाँ आईसीयू बनाई १४ बेड थप गरिएको छ । अस्पतालमा सीएसआर फण्डबाट फाउण्टेन, गार्डेनिङ बनाइएको छ । यसको व्याज आम्दानी एक वर्षमा ३ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।’
एक वर्षको अवधिमा अस्पतालका अति पुराना भवनहरुलाई क्रमशः खाली गर्दै लैजाने व्यवस्था गरिएको छ भने ए ब्लक, बी ब्लक र बहिरंग ९ओपिडि० भवनको भित्री भागमा रगंरोगन सहित आकर्षक बनाइएको छ । दन्तरोग विभागमा तीन वटा डेण्टल चेयर थप गरी बहिरंग भवनको माथिल्लो तलामा लगिएको छ । बिरामीको गोपनीयतालाई ध्यानमा राखेर बहिरंग भवनमा पर्दाहरु थप गरिएको छ । बहिरंग भवनमा शौचालयको कमी भएपछि आवश्यकता अनुसार थप गरिएको अध्यक्ष पौडेलले बताए ।










