काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आन्दोलनको विकल्प नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको बताए। अबको विकल्प राजसंस्था सहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार भएको उनको भनाइ छ। उनले यसको निम्ति सम्पूर्ण जनताहरुलाई सडकमा आउन अपिल गरे।
उनले भने ‘हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापनाको एजेण्डाको मुख्य संवाहक राप्रपा नेपाल भएको। हामीले नै अब यो एजेण्डा स्थापित गर्नका निमित्त आन्दोलन नै अन्तिम विकल्प भएको ठहर गरेको र त्यो लक्ष्य प्राप्त गर्नको निमित्त बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ भनेर हामीले नै अग्रसरता लिएको सबै साथीहरुलाई जानकारी नै छ। संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ। यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन्। त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो। अब हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ। यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन।ु
अध्यक्ष थापाले राप्रपा नेपाल संगठनात्मक रुपमा कमजोर भएको बताए। अझै पनि पालिका तहसम्म पार्टी कमिटी गठन हुन नसकेको र जिल्लाका कमिटीहरु पनि अपेक्षाकृत रुपमा सक्रिय हुन नसकेका बताए।
भातृसंस्था र विभागहरु पनि निस्क्रिय भएका भन्दै अब पार्टी कमिटीलाई जुझारु र सक्रिय बनाउनुपर्नेमा जोड दिए।











